Home देश के गुठीको जग्गा किनबेच गर्न पाईन्छ ? के हो गुठी ? कसरी हुन्छ...

के गुठीको जग्गा किनबेच गर्न पाईन्छ ? के हो गुठी ? कसरी हुन्छ गुठीमा ब्यक्तिको राज ???

गुठी संस्थान ऐन २०३३ को दफा २ ९ ग अनुसार “गुठी” भन्‍नाले कुनै मठ वा कुनै देवी–देवताको पर्व, पूजा वा जात्रा चलाउन वा कुनै धार्मिक वा परोपकारी कामको लागि कुनै मन्दिर, देवस्थल, धर्मशाला, पाटी– पौवा, इनार, पोखरी, तलाउ, धारा, पियाउ, बाटो, घाट, पुल, चौतारा, गौचरन, बाग(बगैचा, जङ्गल, पुस्तकालय, पाठशाला, औषधालय, चिकित्सालय घर, इमारत वा संस्था बनाउने, चलाउन वा त्यस्को संरक्षण गर्न कुनै दाताले आफ्नो चल अचल सम्पत्ति वा आयस्ता आउने अरू कुनै सम्पत्ति वा रकममा आफ्नो हक छाडी राखेको गुठी समेतलाई सम्झनुपर्छु भनि उल्लेख गरेको छ ।  

529
0
SHARE

नेपालमा गुठीको जग्गा भोगचलन गरेर बस्‍ने धेरै व्यक्तिहरु छन् । तिमध्ये अधिकांश किसान छन् । तराईमा धेरैजसो गुठीको जग्गाहरुमा घर बनाएर बस्‍ने र गुठीको जग्गाहरु भोगचलन गर्ने गरिन्छ । हामीले धेरै जसो गुठीको जग्गाहरु दुरुपयोग भएको, हिनामिना भएको वा अमुक व्यक्तिले आफ्नो नाममा पास गरेको भन्‍ने सुनिरहेकै हुन्छ । गुठीको जग्गा भोग गर्ने र यसको दुरुपयोग गर्ने प्रवृत्तिकै कारण गुठीको अस्तित्वनै धरापमा पर्ने सम्भावना बढेको छ । के गुठीको जग्गामा घर बनाएर बस्‍ने बित्तिकै गुठीको जग्गा आफ्नो बनाउन मिल्छ ? के गुठीको जग्गा किनबेच गर्न पाईन्छ ? के गुठीको जग्गा व्यक्तिको नाममा पास गर्न सकिन्छ तर ? यि यस्ता प्रश्नहरुको धेरै व्यक्तिहरुले मनमा उब्जिनै रहेका हुन्छ । 
तसर्थ, यस लेख मार्फत हामी गुठी सम्बन्धि केहि सामान्य कानुनी व्यवस्थाहरुको बारेमा बुझ्‍ने प्रयत्‍न गर्नेछौ । 
नेपालमा गुठीको इतिहास र यसको बिकासको अवधारणा  
नेपालमा गुठीको स्थापना कहिले भयो भन्‍ने कुराको एकिन तथ्यांक छैन् । तर, यसको बिकास भने महत्वपूर्ण सांस्कृतिक र धार्मिक विरासतसँग जोडिएका सम्पदाहरुको संरक्षण र त्यससम्बन्धि उत्सवहरुको अभ्यास जारी राख्‍नको गरिएको भन्‍ने बुझिन्छ । गुठी प्रणाली सुन्दा जति सहज छ, बुझ्दै जाँदा उतिनै जटिल छ । 
सामान्य रुपमा हामीले अग्रेजी शब्दको ‘Trust’ र नेपाली शब्दको गुठीलाई एकै अर्थमा बुझ्‍ने गर्दछौ तर, यो भिन्‍न अवधारणा हो । नेपालको इतिहासमा गुठीको सुरुवात लिच्छविकाल देखि भएको भन्‍ने बुझिन्छ ।  विक्रम संवत् १९१० मा जङ्गबहादुरले जारी गरेको मुलुकी ऐनमा पनि गुठी राख्दा त्यस्तो गर्ने व्यक्तिको सात पुस्तासम्मको उद्धार हुनेु उल्लेख छ । त्यसपछि मुलुकी ऐन २०२० मा पनि गुठीको प्रावधान रहेको देखिन्छ । प्रथम गुठी सम्बन्धि ऐन २०२१ सालमा आई हाल नेपालको संविधान २०७२, गुठी संस्थान ऐन २०३३, र मुलुकी देवानी संहिता २०७४ मा यसको व्यवस्था रहेको छ ।
गुठी भन्‍नाले के बुझ्‍ने? 
गुठी संस्थान ऐन २०३३ को दफा २ ९ ग अनुसार “गुठी” भन्‍नाले कुनै मठ वा कुनै देवी–देवताको पर्व, पूजा वा जात्रा चलाउन वा कुनै धार्मिक वा परोपकारी कामको लागि कुनै मन्दिर, देवस्थल, धर्मशाला, पाटी– पौवा, इनार, पोखरी, तलाउ, धारा, पियाउ, बाटो, घाट, पुल, चौतारा, गौचरन, बाग(बगैचा, जङ्गल, पुस्तकालय, पाठशाला, औषधालय, चिकित्सालय घर, इमारत वा संस्था बनाउने, चलाउन वा त्यस्को संरक्षण गर्न कुनै दाताले आफ्नो चल अचल सम्पत्ति वा आयस्ता आउने अरू कुनै सम्पत्ति वा रकममा आफ्नो हक छाडी राखेको गुठी समेतलाई सम्झनुपर्छु भनि उल्लेख गरेको छ ।  
गुठीका प्रकार
गुठी संस्थान ऐन २०३३ ले गुठीलाई ३ प्रकारमा बिभाजन गरेको छ।
* राज गुठी
* छुट गुठी 
* निजी गुठी 
त्यस्तै मुलुकी देवानी संहिता २०७४ को दफा ३१५ बमोजिम गुठीलाई २ प्रकारमा बिभाजन गरिएको छ।
* सार्वजनिक गुठी 
* निजी गुठी 
सार्वजनिक गुठी र निजि गुठीमा के फरक छ?
गुठी संस्थान ऐन २०३३ बमोजिम राजगुठीको चल अचल सम्पत्ति वा त्यसबाट भएको आम्दानी हाल भईरहेको र थप कुनै धार्मिक, शैक्षिक, सामाजिक, साँस्कृतिक वा परोपकारी संस्था वा कार्यमा लगाउनु पर्दछ भने निजी गुठीको चल अचल सम्पत्ति भने कुनै व्यक्ति वा समूह विशेषको हित, लाभ वा सुविधाका लागि प्रयोग गर्न सकिन्छ ।
सार्वजनिक गुठी कुनै कारणवश भङ्ग वा विघटन भएमा गुठीको सम्पत्ति संस्थापनापत्रमा व्यवस्था भएकोमा वाहेक पञ्‍जिकाधिकारीको आदेशले गुठी सञ्‍चालनको त्यस्तै उदेश्य भएको अन्य कुनै गुठी र त्यस्तो गुठी नभएकोमा समान उदेश्य भएको कुनै सार्वजनिक संस्थालाई हस्तान्तरण गरिन्छ भने निजि गुठी भए हितग्राही यकिन भएकोमा त्यस्तो हितग्राही र यकिन नभएकोमा निजको हकवाला र त्यस्तो हकवाला पनि नभएमा गुठी संस्थापक र गुठी संस्थापक नभएको निजको हकवालालाई हक हस्तान्तरण गर्न सकिन्छ । तसर्थ सार्वजनिक गुठी र निजि गुठीको अन्तर त्यस्तो गुठीमा आवद्द सम्पत्तिको प्रयोग र हस्तान्तरण संग सम्बन्धित रहन्छ भन्‍ने बुझ्‍न सकिन्छ । 
गुठीको सम्पत्तिमा के-के पर्दछ?
हाम्रो कानुनी व्यवस्था अनुसार गुठीले समाजिक सस्थाको अवधारणा बोकेको हुँदा गुठीले जुनसुकै किसिमको सम्पत्ति पनि आफ्नो नाममा राख्‍न पाउँछ । दाताले कुनै चल वा अचल सम्पत्तिहरु गुठीको नाममा गरिदिन सक्छन् । सामान्यतयाः गुठीसँग अचल सम्पत्तिको रुपमा जग्गाहरु रहने भएका कारण यो बिवादित तथा संवेदनशिल बिषय भएको छ ।  
गुठीको जग्गा वा सम्पत्ति किन्‍न वा लगानी गर्न पाइन्छ?
गुठी एक परोपकारी र सामाजिक संस्था भएका कारणले गुठीको सम्पत्तिलाई सामाजिक रुपमा उपभोग गर्न र लगानी गर्न सक्ने व्यवस्था कानुनले गरेको छ ।  मुलुकी देवानी संहिता, २०७४ को दफा ३२३(३) अन्तर्गत गुठीको उद्देश्य पूरा गर्न तत्काल आवश्यक नपर्ने सम्पत्तिबाट प्राप्त भएको आर्जन वापतको रकम गुठीको उद्देश्य पूरा गर्न लगानी गर्न सकिनेछ भनि उल्लेख गरेको छ । त्यसरी लगानी गर्दा लगानी गर्ने कूल रकमको अनुपात भने कानुनलेनै तोकिएको हुन्छ । यसको अर्थ गुठीको जग्गा कुनै ब्यक्तिले किन्‍ने वा व्यक्तिले लगानी गर्ने नभई गुठीलेनै स्वयं लगानी गर्ने हो र यसको प्रतिफल समेत गुठीलेनै प्राप्त गर्दछ ।
यदि गुठीको जग्गा किन्‍न पाईदैन भने हाल गुठीको जग्गाहरु व्यक्ति बिशेषको नाममा वा निजि कम्पनीको नाममा कसरी बिक्री बितरण कसरी भैरहेको छ? 
सामान्यतय गुठी स्थापनाबाट आर्जित सम्पत्तिलाई मात्र उपभोग गर्नु पर्दछ जसका मुख्य उदेश्य भनेकै गुठीको सम्पत्ति यथावत राख्‍नु हो । तर, गुठी संस्थान ऐनमा गुठी (राजगुठी) जग्गालाई बेचेर रैकरमा परिवर्तन गर्ने केही प्रावधान रहेकोमा साल १९९३ र १९८९ मा यस आशयमा परिवर्तन ल्याई निजी गुठीलाई पनि जग्गा बेच्‍न र ब्याज आम्दानीको लागि बैंकमा धतो राख्‍ने व्यवस्था गरिएको थियो । 
उक्त प्रावधानलाई चुनौति दिदै जनहित संरक्षण मञ्‍चका तर्फबाट अधिवक्ता प्रकाशमणि शर्माले नेपाल सरकार, मन्त्रिपरिषद् सचिवालय सिहंदरवार, काठमाडौ समेतका बिरुद्द दायर गरेको रिट निवेदनमा ( ने. का.प २०६४ नि न ७८८५०) भैरहेका गुठी जग्गालाई क्रमशः गुठी रैतान नम्बरीमा परिणत गर्दै जाने हो भने गुठी सम्पदा लोप हुने मात्र होइन, त्यसका दाताले लिएको विश्‍वास टुट्छ । त्यस्ता सम्पदामा अडिएको धार्मिक, सांस्कृतिक, सामाजिक आधार पनि खल्बलिन पुग्छ ।
संविधानले सांस्कृतिक सभ्यता र सम्पदाको संरक्षण र सम्वर्धन गर्ने र धार्मिक स्थल र धार्मिक गुठीको संचालन र संरक्षण गर्ने हक प्रदान गरेको सन्दर्भमा त्यस्तै उद्देश्य राखी खडा गरिएका गुठी सम्पदाको अस्तित्व समाप्त पार्ने गरी गरिएको कानूनी व्यवस्थालाई संविधान अनुकूल मान्‍न र सम्झन नमिल्ने भनि सम्मानित सर्वोच्च अदालतबाट सिद्दान्त प्रतिपादित भयो ।  
तर, निजि गुठीको सन्दर्भमा सो गुठी कुनै कारणवश भङ्ग वा विघटन भएमा गुठीको सम्पत्ति हितग्राहि यकिन भएकोमा त्यस्तो हितग्राहीलाई हक हस्तान्तरण हुने व्यवस्था कानुनमा  रहेको छ । साथै, गुठी तैनाथि जग्गा संस्थानले तोकिए बमोजिम बढाबढ गराई गुठी रैतान नम्बरी जग्गामा परिणत गरी दर्ता गरी दिन सकिन्छ । 
गुठीको जग्गा वा सम्पत्ति धितो बन्धक र बेचबिखन गर्न पाइन्छ?
मुलुकी देवानि संहिता २०७४ को दफा ३५० को उपदफा (२) बमोजिमको गुठी जुन उद्देश्य र प्रयोजनका लागि संस्थापना भएको थियो सोही उद्देश्य र प्रयोजनका लागि पूर्ववत रूपमा व्यवस्थापन र सञ्‍चालन गर्नु पर्नेछ र सोही बमोजिमको उद्देश्य र प्रयोजन पूरा गरी बाँकी रहेको सम्पत्ति वा आम्दानी भोग चलन गर्न वा धितो बन्धक राख्‍न सकिनेछ भन्‍ने व्यवस्था गरिएको छ । 
साथै, यसरी स्थापना भएका गुठीको उद्देश्य र प्रयोजनमा प्रतिकूल असर नपर्ने गरी गुठीको सम्पत्ति खरिद बिक्रि गर्न सकिने व्यवस्था समेत कानुनमा गरिएको छ । यसको अर्थ जुन गुठी जुन उदेश्यको लागि खोलिएको हो, त्यही उदेश्य प्राप्तिका लागि मात्र गुठीको जग्गा बेच(बिखन गर्न पाईन्छ । त्यस भन्दा अतिरिक्त गुठीको जग्गा व्यक्तिको जग्गा सरह कसैलाई दिन वा पास गर्न मिल्दैन । 
गुठीको सम्पत्ति हक हस्तान्तरण गर्न मिल्छ?
मुलुकी संहिता २०७४ को दफा ३२२ मा गुठीको सम्पत्ति गुठी संचालकले गुठी सस्थापनापत्रमा उल्लेख भए बमोजिम गुठको सम्पत्ति संचालन र व्यवस्थापन गर्नु पर्ने कानुनु व्यवस्था रेहको छ।  त्यस्तै सोहि संहिताको दफा ३३५ मा गुठीको सम्पत्ति हितग्राहीको हित प्रतिकूल हुने गरी आफ्नो वा अरु कसैको लागि भोगचनग वा प्रयोग गर्न नहुने व्यवस्था कानुनले गरेको छ । गुठीको सम्पत्तिको हक हस्तान्तरणको सम्बन्धमा भने सोही संहिताको दफा ३४३ मा संस्थापनापत्रमा अन्यथा व्यवस्था भएकोमा बाहेक एक मात्र हितग्राही भएकोमा निज करार गर्न योग्य भएपछि र एकभन्दा बढी हितग्राही भए प्रत्येक हितग्राही करार गर्न योग्य भई एकमत भएपछि निजले गुठीको सम्पत्ति आफुलाई हस्तान्तरण गर्न गुठी सञ्‍चालकलाई निर्देशन दिन सक्नेछन् भन्‍ने कानुनी व्यवस्था रहेको छ । तर, सार्वजनिक गुठीको हकमा यो व्यवस्था लागू हुने छैन भनि ब्यबस्था गरिएको छ ।  हक हस्तान्तरण मात्र नभएर प्रचलित कानूनमा हितग्राहीले लाभ समेत त्याग्‍न सक्ने भनि व्यवस्था गरिएको छ । 
मुलुकी संहिता २०७४ को दफा ३४४ (१) अन्तर्गत निजी गुठीको हकमा करार गर्न योग्य भएको हितग्राहीले गुठी सम्पत्तिबाट प्राप्त गर्ने आफ्नो हक, लाभ, सुविधा वा हित गुठी सञ्‍चालक र पञ्‍जिकाधिकारीलाई लिखित रूपमा सूचना दिई आंशिक वा पूरै त्याग गर्न सक्नेछ भनि उल्लेख छ । साथै मुलुकी देवानी संहिता, २०७४ को दफा ३४५ (२) सार्वजनिक गुठीको हकमा त्यस्तो गुठीको सम्पत्ति सञ्‍चालन तथा व्यवस्थापन गर्न छुट्टै सङ्गठित संस्था खडा गर्नु पर्ने व्यवस्था स्थापनापत्रमा भएकोमा त्यस्तो सम्पत्ति त्यसरी खडा भएको सङ्गठित संस्थाको नाममा रहनेछ भनि उल्लेख गरिएको छ । 
गुठी सम्पत्ति नोक्सान गर्न सकिन्छ त? 
गुठीको सम्पत्ति कुनै पनि गुठी संचालक वा गुठीको हितग्राहीले नोक्सान गर्न सक्दैन । जस्तो गुठीको हितग्रहीको हित प्रतिकूल वा गुठीको उदेश्य विपरित हुने गरी गुठीको विनाश गर्ने, अन्त्य गर्ने वा अन्य कुनै किसिमले नोक्सानी गर्ने काम हुन दिनबाट रोक्ने दायित्व गुठी संचालकको हुनेछ भनि कानुनी व्यवस्था रहेको छ । साथै गुठीको सम्पत्ति उपयुक्त ढङ्गबाट व्यवस्थापन नभएमा, ठगी वा जालसाजी भएमा, हिनामिना भएमा वा गुठीको उदेश्य पुरा नगरी गुठी सम्पत्तिको अन्यत्र उपयोग भएमा कुनै सस्थापक वा हितग्राहीले सस्थापनापत्रमा उल्लेखित व्यवस्थाको अधिनमा रही गुठी सम्पत्ति त्यसरी हिनामिना हुनबाट रोक्न अदालतमा उजुरी गर्न सक्ने व्यवस्था कानुनले गरेको छ । सार्वजनिक गुठीको हकमा भने जो सुकैले पनि अदालतमा उजुरी गर्न सक्ने व्यवस्था कानुनले गरेको छ । 
गुठीको जग्गा आवाद गर्न सकिन्छ?
आवाद भन्‍नाले कुनै जग्गालाई कमाउनु वा उपभोग गर्नु वा खेतिपाति गर्नु भन्‍ने बुझिन्छ । आवादको शाब्दिक अर्थ उपभोग हो तसर्थ कुनै बाँझो जग्गालाई खेतियोग्य बनाईमा त्यसलाई जग्गा आवाद गरिएको भनेर बुझ्‍न सकिन्छ । गुठी सार्वजनिक र सामुदायिक प्रकृतिको संस्था भएको हुनाले गुठीको सम्पत्ति अरुले आवाद वा उपभोग गर्न मिल्दैन । 
मालपोत ऐन २०३४ को व्यवस्था बमोजिम सरकारी, सार्वजनिक वा सामुदायिक जग्गा व्यक्ति विशेषका नाउँमा दर्ता वा आवाद गर्न गराउन हुँदैन । यसरी कसैले सरकारी वा सार्वजनिक जग्गा दर्ता वा आबाद गराएमा त्यस्तो कसूर गर्ने गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ भन्‍ने समेत उक्त ऐनमा व्यवस्था गरिएको छ । मुलुकी देवानी संहिता, २०७४ भाग ४ परिच्छेद ५ दफा ३०५ र ३०६ मा पनि यस्तै व्यवस्था गरिएको छ । 
कस्तो गुठीको जग्गा किनबेच गर्न, धितो राख्‍न वा नक्सा पास गरेर संरचना बनाउन पाइन्छ? 
गुठी संस्थान ऐन २०३३ बमोजिम कुनै पनि गुठी तैनाथि जग्गा घर घडेरी वा उध्याेग व्यापारको लागि उपयुक्त देखिएमा त्यस्तो गुठी जग्गा तोकिए बमोजिम बढाबढ गराई गुठी रैतान नम्बरी जग्गामा परिणत गरी दर्ता गरी दिन सक्नेछ र २०४६ चैत्र २६ गते भन्दा पहिले नै गुठी तैनाथी जग्गामा आफ्नै पूँजी लगाई घर बनाई बसोवास गरिसकेकाको हकमा त्यस्तो घर घडेरी यसै ऐनमा अन्यत्र व्यवस्था गरिए अनुसार मूल्याङ्न समितिले तोकेको मूल्यको आधारमा निजकै नाममा रैतान नम्बरीमा परिणत गरि दर्ता गर्न सकिनेछ व्यवस्था समेत कानुनले गरेको छ । 
गुठी संस्थान ऐन, २०३३ बमोजिम गुठी जग्गामा खास जोताहा किसानले प्रचलित कानुन बमोजिम मोहियानी हक पाउने व्यवस्था समेत कानुनमा रहेको छ ।  भूमि समबन्धमा ऐन, २०२१ तथा अन्य प्रचलित नेपाल कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐन बमोजिम मोहियानीमा कमाई आएको जग्गाको मोहियानी हक खरिद बिक्रि हुन सक्नेछ भनि व्यवस्था भएको छ ।  तर देवस्थल रहेको वा देवी देवता देवस्थल पर्व पूजा जात्रासँग सम्बन्धित धार्मिक एंव सार्वजनिक पर्ति जग्गा कुनै व्यक्तिको नामाम दर्ता गर्न मिल्ने छैन भनि कानुनले वर्जित समेत गरेको छ । 
गुठीको जग्गा आवाद गरेमा कहिलेसम्म उजुरी गर्न मिल्छ?
मुलुकी देवानी सहिता, २०७४ को दफा ३५१ अन्तर्गत गुठीको परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले नालिस गर्नु पर्दा गुठीको सम्पत्ति हिनामिना गरेको, गुठीको सम्पत्तिसँग सम्बन्धित कुनै लिखत जालसाजी वा किर्ते गरेको, गुठीको सम्पत्ति मासे खाएको, सञ्‍चालकले गुठी संस्थापनापत्रको शर्त विपरीत फाइदा लिएको, गुठीको सम्पत्ति वा सोको मूल्य वा आय सञ्‍चालक वा अन्य व्यक्तिबाट फिर्ता गराउनु परेको कुरामा जहिले सुकै नालिस गरे पनि हुन्छ । 
यस्ता कामहरुका लागि कानुनले हदम्याद तोकेको छैन । तर, माथि उल्लिखित विषय बाहेक अन्य विषयमा नालिस गर्नु पर्ने कारण भएको मितिले छ महिनाभित्र नालिस गर्न सकिने व्यवस्था कानुनले गरेको छ । 
नजिर कस्ता छन् ?
कुनै जग्गाको एक पटक सर्भे नापि हुँदा उक्त जग्गा गुठीको हो भनि लेखाएको पछि फेरी गुठीको होईन भनि भन्दैमा उक्त जग्गा अन्यको हुन सक्दैन भन्‍ने नजिर सर्वोच्च अदालतबाट प्रतिपादित भएको छ । सर्वोच्चबाट प्रतिपादित नजिरमा भनिएको छ “१९८० सालमा सर्भे गर्दा राज गुठी भनि स्वीकार गरेपछि पछी आइ होइन भनेर इन्कार गर्दैमा राज गुठि होइन भन्‍न नमिल्ने । राज गुठीको लक्षण गुठीको कागजातमा कस्ट बोलि परेकालाई राज गुठी ठहर्यौउनु पर्ने ।”
गुठीको जग्गा व्यक्तले उपभोग गर्ने सम्बन्धमा पनि सम्मानित सर्वोच्च अदालतबाट निम्‍न नजिर प्रतिपादित गरिएको छ । “देवस्थल जग्गा गुठी संस्थान अधिनस्थ जग्गा हो भन्‍ने कुरामा पनि विवाद छैन । यस्तो देवस्थल जग्गालाई सबै कार्यालय निकायले संरक्षित अवस्थामा राख्‍नु पर्ने सबैको कर्तव्य हुन्छ । यस्तो जग्गामा निवेदकले नक्सा पास गर्दा बाटो देखाई उक्त देवस्थल जग्गातर्फ टप राख्‍ने तथा ग्यारेज बनाउने कार्य गर्न खोज्‍नु कानुन अनुरुपको कार्य पनि देखिन आएन” भनि नजिर प्रतिपादित गरिएको छ ।
 गुठीमा कसको हक श्रृजना भएको हुन्छ र कस्तो हक अन्त्य हुन्छ भन्‍ने कुरामा पनि सम्मानित सर्वोच्च अदातलबाट निम्‍न बमोजिमको नजिर प्रतिपादि गरिएको छ । “केवल गुठी जग्गाको रैकर परिणत लगायत गुठी पुजाआजा रेखदेख दर्ता प्रतिवादीले मात्र गरेको अन्य गुठीयारका शाखा सन्तानले वास्ता नगरेको समेतका अवस्थामा एकलौटी दर्ता गराएकोमा वादीहरुको हक समाप्त भै सकेको भन्‍ने प्रतिवादी जिकिर अनुसार के हो त भन्‍नलाई गुठी राख्दा कुनै धार्मिक सामाजिक उद्देश्यले राखिने र गुठीयारहरुको सन्तानले गुठीको उद्देश्य तथा पूरा गर्नुपर्ने दायित्व पूरा गरी गुठी पालो पाउने सम्म हो तर पुजाआजा आदिको कर्तव्य निर्वाह नगर्दैमा उक्त गुठीमा गुठी राख्‍ने दर्तावालाको सन्तानको हक नै समाप्त हुन्छ भन्‍न कानूनसम्मत हुँदैन । 
लेखक : आवेश अधिकारी

SOURCENepal homes
SHARE
Previous articleएकै परिवारका ६ जनाको हत्या : प्रहरी घटना स्थल पुग्दै
Next articleनेपालको सबै भन्दा लामो पुल …
अर्थ / व्यवसाय,पर्यटन, साहित्य / सस्कृति र लोकतान्त्रिक समाजवाद उन्मुख जनजागरणलाई केन्द्रमा राख्दै सत्यतथ्यमा आधारित समाचार र प्रगति उन्मुख विचार प्रवाहप्रति समर्पित अनलाइन समाचार सन्देश नेपाल डट कम लाइ माया गरेर लाइक र फलो गर्नु हुने सम्पूर्ण मा म सन्देश नेपाल को संचालक कमल भुसाल “चञ्चल “ हार्दिक धन्यवाद एवंम कृतज्ञता ब्याक्त गर्दछु l

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here